वर्गीय र जातीय सवालः मनोबैज्ञानिक विश्लेषण

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर प्रमोसन विचार समाज

अरुण नेपाल :

धने सार्की र साजन सुबेदी एक बिकट गाउँमा जन्मिए । सँगसँगै हुर्किए । बढे । पढे । सँगै घाँस दाउरा गरे । खेतबारीमा सँगसँगै काम गरे । वास्तवमा उनीहरू एकअर्कामा अत्यन्तै मिलनसार साथी थिए । प्रायःजसो उनीहरू सँगसँगै हिड्थे । उनीहरू सँगसँगै सुत्न र खान पनि चाहन्थे । तर साजनका बा आमाले धनेसँग सुत्न र खान चाहिँ बन्देज लगाएका थिए । सबैजसो काम सँगसँगै गरेपनि साजन र धनेले चाहेर पनि सँगै सुत्न र खान नपाउँदा उनीहरू निकै खिन्न देखिन्थे ।

एकदिन स्कुलबाट घर फर्कदा मुसलधारे असिना पानी पर्यो । ओत लाग्न दुवैजना धनेको घर पसे । पानी रातीसम्म रहेन । बाध्याताबस साजन धनेकै घरमा बस्यो । उनीहरू दुवैलाइ सँगै खाने र सुत्ने अवसर मिल्यो । उनीहरू अौधी खुशी भए । उनीहरू दुइजना निकै खुशी देखिए पनि धनेका बा आमा निकै चिन्तित जस्तो देखिन्थे । धने र साजनको उक्त खुशी धेरै समय टिक्न सकेन । उज्यालो हुनासाथ वरपरको मौसम निकै मनमोहक भए पनि धनेको घरमा एकाएक चारैतिरबाट कालो बादल मडारिएको भान भयो ।

सबैतिर अन्नधन्न भए झैं भयो । ठूलै गड्याङगुडुङ गर्दै चट्याङ परे झै भयो । साजनका बा ठूलै लाठी बोकेर धेरै नै आक्रोसित हुँदै धनेका घरमा पुगे । उनी एकाएक लाठी चार्जमा उत्रे । उनले त्यो लाठी साजनका तिघ्रामा पटक पटक चार्ज गरे । लाठी भाँच्चिएर टुक्राटुक्रा भयो । साजन अत्तालिएर कराउँदै र चिच्याउदै सुम्लासरिका तिघ्रा सुम्सुम्याउदै धनेको घरबाट भाग्यो । साजनका बा तथानाम भुत्भुताउँदै साजनलाइ लखेट्न थाले । धनेको घरमा एकाएक सन्नाटा छायो । उनीहरू अक्क न बक्क भए । साजनका बाको ताण्डव नृत्य एकोहोरो नियालिरहे । उनीहरूले एक शब्द बोल्ने आँटसम्म गरेनन् ।

भोलीपल्टदेखि धने र साजनको जीवनशैलीमा आमुल परिवर्तन भयो । साजनका बा आमाले साजनलाइ धनेको संगत नगर्न कडा फरमान नै जारी गरे । उनीहरू विस्तारै एक अर्काबाट टाढिए । एस.एल.सी परीक्षा भयो । परीक्षाफल प्रकासित भयो । धनेले द्धितीय र साजनले तृतीय श्रेणीमा एस.एल.सी पास गरे । दुवैजना खुशीले गद्गद् भए । एस.एल.सी पास भएपछि उनीहरू लगातार आइ.ए. पढ्न चाहन्थे । तर आर्थिक अभावका कारण उनीहरूले पढ्न सकेनन् । उनीहरू शारीरिक रूपमा निकै स्वस्थ र बलिया थिए । त्यसकारण उनीहरूले एक बर्षसम्म दोकाने साहुका समान ओसारेर आवश्यक खर्च जुटाइ अर्को सालदेखि आइ.ए. पढ्न जाने निधो गरे । बर्षदिनभरि कठीन श्रम गरे । न्युनतम खर्च जुटाए । क्याम्पस जाने मिति तय गरे ।

कुन्नी किन हो, धने अघिल्लै दिन बेलुकातिर घरबाट हिडी खोलापारी मावलमा बास बस्न पुग्यो । साजन भोलीपल्ट बिहानै घरबाट हिड्यो । धने मावल छेउको चौतारीमा साजनलाइ कुरेर बसेको रहेछ । दुवैजना भेट भए । गड्याप्पसँग कसिलो गरी हात मिलाए । यताउता हेरे । झोला जाँच गरे । बलियोसँग बाँधबुँध पारे । अनि निकै गरूङ झोला बोकेर चुइचुइ पार्दै बाटो लागे । क्याम्पस पढ्ने उत्कट चाहनाका साथ उच्च मनोबल र खाजासामल बोकेर हिडेका उनीहरूलाइ बाटो काट्न खासै कठीन भएन । बाटामा बाल्यकालका तिता मीठा अनुभव साटासाट गरे । अघि माथि उल्लेख गरिएको घटनाका बारेमा गम्भीर समीक्षा गरे । भविष्यमा त्यस्ता दुःखद घटना पुनः दोहोरिदैनन् होला भन्ने अपेक्षा गरे । रात साँझ गर्दै क्याम्पस नजिकै पुगेर बास बसे ।

भोलीपल्ट कोठा खोज्न थाले । कोठा खोज्न जानासाथ घरवालाले पुरै परिचय माग्थे । परिचय गरेर निकैबेर कुराकानी गरेपछि शुरूमा कोठा भएको संकेत गरे पनि अन्तिममा कोठा दिन चाहिँ कसैले मञ्जुर गरेनन् । कोठा खोज्ने क्रम तिन दिनसम्म चल्यो । कोठा मिलेन । उनीहरूले उक्त पीडा अरू साथीहरूसँग पनि पोखे । कुरा गर्दै लाँदा धनेका कारण कोठा नमिलेको निष्कर्श निकाले। साथीहरूले धनेलाइ सार्कीको सट्टा कार्की भन्न सुझाए ।

धनेले आफ्नो नागरिकता समेत बनाइसकेको थियो । फेरि धनेलाइ उसको थर परिवर्तन गर्न पटक्कै मन लागेन । त्यस कुराले धनेलाइ धेरै नै पीडा भयो । के भन्ने वा नभन्ने जस्तो भयो । अन्तिममा म प्राइभेट नै पढ्छु, तिमीले मलाइ किताब र नोट दिएर सहयोग गर्नु पर्छ भन्दै धने घर फर्कने निष्कर्शमा पुग्यो । साजनको गला अबरूद्ध भयो । दुवैजना एक टकसँग निकैबेर हेराहेर गरे । दुवैका आँखामा आँसु टिल्पिल टिल्पिल गर्न थाले । धने एकाएक भक्कानियो । झोलाका सबै सामान खन्यायो । साजन एक शब्द बोल्न सकेन । धने सुक्क सुक्क गर्दै घरतिर लाग्यो । अलिक परतिर पुगेर हात हल्लाएर बाइबाइको संकेत गर्यो । साजन यसै टोलायो । अक्क न बक्क भयो ।

बाटामा धनेका मनमा अनेक कुरा खेल्न थाले । प्राइभेट परीक्षा दिएरै भएपनि आइ.ए. पास गरेरै छाड्ने अठोट गर्यो । फेरि परीक्षा दिन जाँदा पनि कोठा मिलेन भने के गर्ने होला ? भन्ने प्रश्नले उसलाइ नराम्ररी घोच्यो । खुइय खुइय गर्दै, पसीना पुछ्दै लगातार हिडिरह्यो । खोलामाथि पुगेर निकै लामो राँको माग्यो । राँको सकिदा नसकिदा निकै राती घर पुग्यो । बा आमा छक्क परे । धनेले सबै कहानी बेलीबिस्तार लगायो । वास्तविकता थाहा पाएर धनेका बा आमाले लामो शास फेरे । दुःखीका कोखमा जन्म लिएपछि यस्तै हुन्छ भने । भाग्यमा लेख्या भए तँ पनि साजनकै जस्तो बडाका कुलमा जन्मिन्थिस होला भनेर चित्त बुझाउने प्रयास गरे । अब थप चिन्ता नगरी बिहेसिहे गरेर दुःख सुख सुतीखेती गरी जीवन धान्न धनेका बा आमाले धनेलाइ सल्लाह दिए । रात निकै छिप्पिसकेको थियो । गरूङ मन बनाएर सबैजना यसै ढल्किए । धने जतिसुकै धेरै गले पनि अबेरसम्म निदाउन सकेन । यता फर्कियो । उता फर्कियो । सिराने मिलायो । सिरक च्याप्प समायो । अब पढाइ लेखाइका कुरा चटक्क माया मार्यो । बिवाह गर्ने निधो गर्यो । येनकेन बा आमाको जस्तै परम्परागत जीवन धान्ने निष्कर्श निकाल्यो । अनि बिहानीपख यसै झकायो ।

समय बित्दै गयो । उता साजनले आफ्नो पढाइलाइ निरन्तरता दियो । आइ.ए. पास गर्यो । वि.ए. पनि सिध्यायो । आफैंले पढेको स्कुलमा पढाउन थाल्यो । निकै बर्ष पढाएपछि हेडमास्टर भयो । पैसा निकै कमायो । बेंसीमा खेत किन्यो । खेतीपाती गर्न कठीन भयो । साजनले आफ्नै साथी धनेलाइ खेत कमाउन आग्रह गर्यो । धनेले सहजै स्वीकार गर्यो । आजकल साजन र धने एउटै खेतमा उब्जिएका धान खाएर जीवन धान्छन् । फरक यति हो, धने आफ्नै पसीनाले भिजेका धानका चामल खान्छ भने साजन पनि धनेकै पसीनाले भिजेका धानका चामल खान्छ । साजनका बा आमालाइ पनि धनेले नै पसीना बगाएर उत्पादन गरेका धानको भात खुवाउँछ । उहिल्यै धनेका घरमा एकरात बस्दा बाले गरेको लाठी चार्ज सम्झेर उ अझै झस्कन्छ । आज पनि उ बासँग धकाइ धकाइ बोल्छ । जे होस्, वर्गीय धरातल उस्तै तर फरक जातीय पृष्ठभुमी भएका धने सार्की र साजन सुबेदीको यो जीवन कहानी केलाउँदा नेपाली समाजमा वर्गीय र जातीय सवाल कति पेचिलो होला भन्ने निकै मननीय प्रश्न उब्जदैन र ? अनि वर्गीय र जातीय मुद्दा मध्ये वर्गीय मुद्दा नै प्रमुख हो भनेर जातीय मुद्दालाइ अन्देखा गर्ने अवस्था छ र ?

फेरि यो त जातीय विभेदको एउटा सामान्य उदाहरण मात्र हो । आजका दिनसम्म इनार छोएको, मन्दिर प्रवेश गरेको, भोज भतेरमा भाग लिएको वा दुइ फरक जातका केटाकेटीले विवाह गरेका, आदि जस्ता अनेक निहुँ र बहानामा नेपाली समाजमा अनगिन्ति अपराधजन्य घटना घटेका घटेकै छन् । अझ यी त सञ्चारमाध्यम वा सामाजिक सञ्जालमा चुहिएर आएका केही प्रतिनिधि उदाहरण मात्र हुन् । यस्ता कयौ घटना त सामान्य समाचारसम्म नबनी गर्भमै तुहिन्छन् । वास्तवमा मानव जातीको उत्पत्ति हुँदा केवल पुरूष र महिलाका दुइ जात मात्र अस्तित्वमा रहेको सत्य सबैका सामु दिनको घाम झै छर्लङग हुँदाहुँदै मानवले मानवमाथि जानी नजानी थोपरेका यस्ता विभेदजन्य घोर अमानवीय र अपमानजनक व्यवहारले एक्काइसौं शताब्दीको चेतनास्तरलाइ नै कुरीकुरी गरिरहेको छैन र ?

खुकुरीको पीर अचानालाइ मात्र थाहा हुन्छ भने झैं सामाजिक संस्कारका नाममा तल्लो जात भनिएका मान्छेउपर गरिएको यस्तो व्यक्त अव्यक्त विभेदकै कारण उक्त समुदायका मान्छेलाइ पर्ने मनोबैज्ञानिक असर जातीय सवाललाइ हल्काफुल्का रूपमा बुझ्ने कथित माथिल्लो जातका मान्छेले कल्पनासम्म गर्न त सक्छन् ? जबसम्म जातीय विभेदका नाममा भएको यो मनोबैज्ञानिक प्रभाव निमिट्यान्न भएको कुरा जनजनका मन मस्तिष्कमा अनुभुति हुँदैन, तबसम्म जातीय विभेद अन्त्य भयो भन्नु जस्तो पाखण्डपन अरू के होला र ? अनि समाजको मुख्य समस्या वर्गीय नै हो भन्दाभन्दै पनि नेपाली समाजको जगमा जकडिएर रहेको र कथित उच्च जातले कल्पनासम्म गर्न नसक्ने मानवीय सम्बेदनासँग अत्यन्तै गहिरो सम्बन्ध राख्ने जातीय विभेदलाइ व्यावहारिक रूपमै समाप्त नगरी अब समाजमा द्धन्द्धका कुनै कारण बाँकी छैनन् भन्नु त झन् पाखण्डपनको पनि पराकाष्ठा नै होइन र, आदरणीय पाठकवर्ग ?

Leave a Reply

Your email address will not be published.