इलामको फाकफोकथुम गाउँपालिकाको सातौं गाउँसभा सुरु

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ बिजनेस


गोविन्द लामिछाने, इलाम :
इलामको फाकफोकथुम गाउँपालिकाको आगामी आर्थिक वर्ष २०७७÷०७८ को लागि नीति तथा कार्यक्रम आजदेखि सुरु भएको छ । फाकफोकथुम गाउँपालिकाको सातौं गाउँसभा सुरु भएको हो ।
गाउँसभामा गाउँपालिकाका अध्यक्ष रामकुमार श्रेष्ठले गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।
नीति तथा कार्यक्रममा गाउँपालिकालाई समृद्धितर्फ उन्मुख गराउने खालका योजना अघि सारिएको छ । कोरोना भाईरसबाट अहिले मुलुक आक्रान्त भईरहेको समयमा यहाँका सबै स्वास्थ्य संस्थाहरुमा आवश्यक उपकरण तथा बजेटको व्यवस्था मिलाउने जनाएको छ ।
खेल जगतमा महिलाहरुलाई पनि अग्रगसर गराउने उद्देश्यले उपाध्यक्ष कप आयोजना गरी खेलप्रति आकर्षित गराउने नीति अवलम्वन गरेको छ ।
युवाहरुलाई युवा स्वरोजगार कार्यक्रममार्फत रोजगारी प्रदान गर्ने नीति अवलम्वन गरेको छ । लक्षित समूहलाई गाउँपालिकाले विशेष प्राथमिकतामा राखेर प्रत्यक्ष फाइदा पुग्ने खालका कार्यक्रम अघि सारेको छ ।
कृषि क्षेत्रलाई प्राथमिकता दिंदै फाकफोकथुम गाउँपालिकालाई अर्गानिक क्षेत्रको रुपमा विकास गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । गाउँपालिकाका विभिन्न वडामा रहेका फुसका छानालाई हटाई फुसको छानो मुक्त बनाउँदै सुकुम्वासी समस्या समाधानका लागि सुरक्षित आवास कार्यक्रमलाई बढावा दिइने गाउँपालिकाका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
गाउँपालिकामा एफएम रेडियो सञ्चालन गर्न पनि गाउँपालिकाले अभियान सञ्चालन गर्ने नीति लिएको छ ।
नीति तथा कार्यक्रममाथि गाउँसभा सदस्यहरुले आ आफ्ना जिज्ञासा प्रस्तुत गरेका थिए । सदस्यहरुले जिज्ञासामाथि गाउँपालिका उपाध्यक्ष सरस्वती राई (सरु) ले जवाफ दिनु हुँदै समृद्ध फाकफोकथुम निर्माणका लागि नीति तथा कार्यक्रम आएको विचार व्यक्त गर्नुभयो ।
नीति तथा कार्यक्रमले पूर्वाधार, सामाजिक, आर्थिक, कोष व्यवस्थापन, विपद व्यवस्थापन तथा संस्थागत सुदृढीकरणलगायतका क्षेत्र समेटेको छ । नीति तथा कार्यक्रम आजै पारित समेत भएको छ ।

Leave a Reply

Your email address will not be published.