धान सुपरजोनका कृषकको पीडा : झापामा एक बोरा मल लिन घण्टौ लाइन

Mukya Samachar Special News Trending प्रदेश नं. १

झापा: झापा कमल गाउँपालिका वडा नं ६का किसान उमाकान्त रिमाल एक बोरा युरिया मल लिनका लागि बिहानैदेखि स्थानीय इन्द्रेणी सहकारी संस्थामा लाइनमा बसे । तँछाड र मँछाड गर्दै युरिया मल लिनेहरुको भीडमा उनी पनि थिए । त्यहाँ उज्यालो हुन नपाउँदै उनी जस्तै किसानहरुको दुई सयभन्दा बढीको लाइन लागिसकेको थियो ।

सहकारीका व्यवस्थापक खगेन्द्र भण्डारीसहितलाई लाइनमा लाग्नेलाई मल उपलब्ध गराउनका लागि गेटमा व्यवस्थापन गर्नका लागि धौं–धौं भएको थियो । जिल्लामा युरिया मलको अभाव भएपछि जहाँ मल पाइन्छ भन्ने सुन्ने बित्तिकै किसानहरु त्यही गएर लाइन लाग्ने अवस्था रहेको पाइएको छ ।

आफूहरुले एक सय ५० बोरा युरिया मल किसानलाई बितरण गरेको सहकारीका व्यवस्थापक भण्डारीले बताए । सिरहा जिल्लाको लहानबाट सहकारीले युरिया मल ल्याएर बितरण गरेको पनि उनले बताए । कृषि सामाग्री कम्पनी लिमिटेड बिर्तामोडको सिफारिस लिएर आफूहरु प्रदेश नं। २मा पर्ने सिरहा जिल्लाको लहान पुगेर मल ल्याएको बताउँदै उनले लाइनमा बस्नेले मल लगेको र अरु मल नपाएर त्यसै फर्किएको जानकारी दिए ।

कृषि सामग्री कम्पनी लिमिटेड बिर्तामोडका प्रमुख कमल पोखरेलका अनुसार केही समययता युरिया मलको अभाव रहेको छ । लहानमा केही मौज्दात रहेको थाह पाएर झापाका बिभिन्न सहकारीहरुलाई २ सय १५ टन युरिया मलका लागि सिफारिस गरेको उनले बताए । झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको अध्यक्षतामा बैठक बसेर यस्तो सिफारिस गर्ने निर्णय भएको पनि उनले जानकारी दिए ।

अहिले मकैको सिजन भएकाले अधिकमात्रामा किसानहरुले युरिया मल माग गर्दै आएको जनाइएको छ । कृषि सामग्री कम्पनीमा दर्ता भएका र स्थानीय तहले सिफारिस गरेका सहकारीमार्फत आफूहरुले किसानलाई मल उपलब्ध गराउँदै आएको र मौज्दात सकिएको पनि पोखरेलले बताए । डिएपी र पोटास पर्याप्त भए पनि युरिया भने अभाव रहेको उनले बताए ।

आफूहरुले साउन महिनादेखि चैतसम्ममा ९७ हजार ४ सय ४१ बोरा युरिया यहाँबाट बितरण गरेको पोखरेलले बताए । अधिकांश झापा जिल्लामा नै यो वितरण गरिएको र पहाडि जिल्लालाइ पुर्याउन मुश्किल बनेको पोखरेलको भनाइ रहेको छ ।

मागलाई हेर्ने भने हो भने अझै पनि १५ सय टन युरिया मल आवश्यक रहेको छ– पोखरेलले भने । अन्य मलहरुको तुलनामा युरिया मलको नै बढी माग हुने गरेको पनि बताइन्छ । यो अवधिमा डीएपी ४० हजार १ सय २७ बोरा र पोटास ४३ सय ३० बोरा वितरण गरिएको पनि कृषि सामग्री कम्पनी लिमिटेड बिर्तामोडले जनाएको छ ।इपूर्वबाट:

Leave a Reply

Your email address will not be published.