रेडियो नेपाल क्वारेन्टाइन, कोरोना बिशेष प्रसारण डायरी -चैत्र १८

Breaking News Hot News Mukya Samachar Special News Trending आर्टीष्ट प्रोफाइल प्रमोसन मनोरञन विचार सूचना प्रविधि

रेडियो नेपालका प्रसारक टीका भण्डारीको अनुभूती
टीका भण्डारी :

आहा त्यो चैत्र १८.…रेडियो नेपालको त्यो भब्य साङ्गीतिक उत्सव. त्यो सुन्दर पल। आज चैत्र १८ गते, म रेडियो नेपाल क्वारेन्टाइनमा छु। समय समयमा रेडियो नेपालबाट कोरोना बिशेष प्रसारणमा बोलिरहेको छु। प्रसारक साथीहरु चौबिसै घण्टा निरन्तर प्रसारणमा जुटिरहनु भएको छ। सबैमा जिम्मेवारी बोध छ। बिश्वब्यापीरुपमा कोरोना भाइरसले मृत्युको घन्टी पल पल बजाइरहेको छ।

 यी हरेक शब्द कोरिंरहँदा हरेक क्षण हरेक पल संसारमा कोरोना भाइरस संक्रमणको कारण मृत्यु सङ्ख्याको ग्राफ उक्लिँदो अवस्थामा छ। आज सम्ममा झन्डै ३८ हजार मानिसले ज्यान गुमाई सकेका छन्। २७ हजार बढी जीवनमरणको दोसाँधमा छन्। क्रिटिकल अवस्थामा छन्। ७ लाख ८५ हजार भन्दा बढी मानिसहरुलाई कोरोनाले आफ्नो निसाना साँधी सकेको छ। तर त्यसमा १ लाख ६६ हजार मानिसहरु कोरोना भाइरससंगको कठिन युद्द जितेर घरमा आराम गरिरहेका पनि छन्। यसले केहि आशाको सञ्चार गरि रहेको छ।

आम नेपालीहरु घर घरमा छन्। परिवारका सदश्यहरुसंग भावनात्मक सामिप्यतामा रहि डेड मिटरको दुरी कायम गरेर बसिरहेका छन् । विषाक्त जीवाणुबाट बच्ने यहि नै अहिलेको सर्बोत्तम उपाय र विकल्प पनि हो। प्रकृतिले कहिले घर भित्रै बस् भन्छ, कहिले फुत्त निस्किहाल भन्छ। हामी सबै प्रकृति बरदान। तर कहिले काहिं उहि नै अभिशाप पनि बनिदिन्छ। कस्तो बिडम्बना। यो बेला आफु र अरुको जीवन कसरी जोगाउने चिन्ता चासो सबै त्यसमै केन्द्रित छ। मनले भन्छ -तर ढिलै गरि भएपनि सबैले यो कुरा राम्रै गरि बुझिसकेका पनि छन्।

आजको दिन रेडियो नेपालको जीवनमा निकै महत्वपुर्ण दिन। सम्झन्छु हरेक बर्ष चैत्र महिनाको १८ गतेको दिन, यो पल साँच्चिकै उत्सवमय हुन्थ्यो,ऐतिहासिक हुन्थ्यो। यो समयमा रेडियो नेपाल बार्षिक उत्सवको युद्दस्तरको तयारी, खेलकुदका रमाईला कार्यक्रम, झङ्कार प्रकाशन, बिशेष कार्यक्रम, प्रसारकहरुमा एक किसिमको उत्साह, उमङ्ग र खुशियाली। सम्झंदै पुलकित हुन्छ एउटा मन। तर मनको अर्को पत्रलाई हावा हुण्डरी झैँ कोरोना संक्रमणको खबरलेले तरङ्गीत तुल्याई रहेको हुन्छ। समुद्रको छाल झैं मन भित्र अनेकन किसिमका आवेग, उदवेग र सम्बेगहरुले एकै पटक वेग मार्न पुग्छन् ।

राष्ट्रको यो संगीन घडीमा ज्यानलाई जोखिममा राखेर जनताको सेवामा समर्पित हुन पाउनु सौभाग्य हो सम्झन्छु। साथीहरु पनि यहि भन्छन्। एक खालको गौरवको अनुभूति, जिम्मेवारी र कर्तव्यबोधको कसैले नाघ्न नसक्ने अग्लो पर्खाल, त्यस भित्र महामारीको केहि डर, केहि त्रास र केहि संसय र केहि स्वभाविक चिन्ता र हामी प्रतिको सबैको चासो एकसाथ खाँदिन्छ मनमा। मनको पर्खाल निकै दर्बिलो छ, मनको विश्वास भरिलो छ, परेको बेला हिरा फोर्नु भन्थे बुढा पाकाहरु, आखिर हिरा फोर्ने बेला पनि त यहि हो भन्ने आँटिलो चेत छ, विवेक छ।

आखिर हट्ने हैन डटी लड्ने नेपालीको बानी हुन्छ भन्दै गीत सुसेल्दै हुर्किएका हैनौं र हामी नेपाली। आजको दिन रेडियो नेपालको परिसर खचाखच हुन्थ्यो। राष्ट्रका नवोदित गायक गायिका सङ्गीतकार गीतकारहरुको एउटा राष्ट्रिय पर्व झैँ ठुलो साङ्गीतिक मेला लाग्थ्यो यहाँ। देशभरिका कलाकारहरुको आफ्नो गला, कला र सिर्जनाले निर्णायकहरुको मन जित्ने होडबाजी चल्थ्यो।

 नयाँ पुस्ताका गायक गायिकाहरु सुन्दर भबिष्य अजमाउने कल्पना र सपना बुन्दै रेडियो नेपालद्वारा आयोजित राष्ट्रव्यापी आधुनिक सङ्गीत प्रतियोगितामा गीति लय सुशेल्दै गरेका हुन्थे। शुर, ताल, गमक, मूर्च्छना, मिठास, स्वर माधुर्यमा भविष्य खोजिरहेका हुन्थे। आज निर्णायक को हुने हुन्, कस्ता हुने हुन्, कसरी निर्णय गर्ने हुन्, म पर्ने हुँ कि नपर्ने हुँ आदि कुराले कलाकारहरुको मन पिरोलिएको हुन्थ्यो। कलाकारहरु सङ्गीतको युद्द मैदानमा उत्रिए पछि हार्ने हैन जित्ने पर्छ भन्ने दृढ अठोट र सङ्कल्पका साथ रेडियो नेपाल परिसर यत्र तत्र आ-आफ्नो सङ्गीत अभ्यास र साधनामा रुमल्लिरहेका हुन्थे।

रेडियो नेपालका उदघोषक साथीहरुको बेग्लै तामझाम हुन्थ्यो। कसरी बोल्ने के बोल्ने आत्मविश्वास जुटाइरहेका हुन्थे। रेडियो नेपाल परिसरमा सजाईएको बिशेष मञ्च आकर्षणको केन्द्रबिन्दु बन्थ्यो। हाम्रा प्रसारक साथीहरु सङ्गीत प्रेमी श्रोता र दर्शक दीर्घामा बसेका रेडियो नेपालका कर्मचारी साथीहरुलाई सम्बोधन गर्दै उत्साह थपिरहेका हुन्थे। पच्चिस बर्ष सेवा अवधि पुगेका कर्मचारी साथीहरु चैत्र २० गते दिर्घ सेवा पदक पाउने उत्कण्ठा बोकेर उद्वेलित मनका साथ एक अर्कासंग खुशी साटिरहेका हुन्थे।

 रेडियो नेपालको बेग्लै चहलपहल, बेग्लै रौनक बेग्लै तामझाम चैत्र १८ गते। आहा …त्यो क्षण, त्यो सुमधुर पल.…,त्यो रमाइलो जमघट र साङ्गीतिक इतिहासको एउटा कालजयी बिरासत। सम्झंदा भावविभोर भएर सतिसाल झैं मन ठिङ्ग उभिन्छ। आज सुनसान छ रेडियो नेपाल। कोरोना भाइरस कोभिड -१९ को बिश्वप्यापी महामारी, त्यसको रोकथाम र नियन्त्रणका लागि सिङ्गो देश लकडाउन। कोरोनाको त्रास छ विश्वमा, हाम्रो देशमा। जुनसुकै वर्ग, क्षेत्र, तह र शक्तिका मानिसहरुको मनमा डरले घर बनाइसकेको छ। तर डराएर, भागेर समस्याको समाधान हुँदैन, बुद्दि, विवेक, सचेतना र सतर्कताले मात्र सङ्कटलाई परास्त गर्न सकिन्छ। लकडाउन आज आठौँ दिनमा आइपुग्दा देशभरिका ६०० भन्दा बढी छापा माध्यम समेत बन्द भएका छन्।

रेडियो नेपालको क्वारेन्टाईनमा प्रसारक भण्डारी

ठुल्ठुला सञ्चार माध्यमबाट समाचार प्रकाशन हुन छोडेका छन्।जनतालाई सुसुचित गर्ने, सञ्चार कर्म गर्ने निजि रेडियो टेलिभिजनहरुको आफ्नै समस्या छ। तर रेडियो नेपाल यी समस्याका वावजुत आफ्नो कर्तव्यपथमा सगरमाथा झैं चट्टान भएर उभिएको छ। टेलिफोन सम्बादमा स्रोताहरु स्वयम् भन्छन -७२ सालको भुकम्पको बेलामा झैं आम मानिसहरु रेडियो नेपालको प्रसारणलाई पछ्याई रहेका छन्, हामी पनि रेडियो नेपाल नै सुनिरहेका छौँ, रेडियो नेपाल नै पहिले पनि, अहिले पनि आधिकारिक र विश्वसनीय पनि छ, यो यात्रा नटुटोस्, तपाईं हरुको निरन्तर साथ् नछुटोस् है। यी भनाईले हामीलाई अझ उत्साही तुल्याउँ छ। आत्मवल दर्बिलो बनाउँ छ। जिम्मेवारीको गाँठोलाई अझ कशिलो बनाउँ छ। यो बेला चुनौतिहरुसंग पौंठेजोरी खेल्दै चौबिसै घण्टा रेडियो नेपालले कोरोना भाइरस कोभिड-१९ का बारेमा विभिन्न सूचना, समाचार, र आधिकारिक व्यक्तित्वहरुका आधिकारिक धारणाहरु प्रसारण गरिरहेको छ। धन्य छ रेडियो नेपाल।

आजको दिन निकै घमाईलो छ। टा- टाढा रहेर बिहान केहि बेर हामीले फुटबल खेल्यौं। शरीरलाई तन्दुरुस्त बनायौं। पसिना बगायौं। केहि साथीहरुले रेडियो नेपाल परिसरमै मर्निङ्वाक गरे। पालै पालो आफ्नो प्रसारण कार्यमा जुटिरहेका, खटिरहेका पनि छन्। एकछिन खेल्यो, एकछिन बोल्यो, एकछिन गफियो, पालैपालो खाजा खायो, खाना खायो, फलफुल खायो, नुहाईधुवाई, आफ्नो कपडा आफै धोई पखाली गर्यो।

स्टुडियो छिर्ने बेलामा हातमा सेनिटाइजर लगायो, स्टुडियोबाट बाहिर निस्के पछि फेरी सेनिटाइजर लगायो। क्वारेन्टाइन कोठामा आइसके पछि तातो पानी पियो, मनलाई शान्त पार्यो, केहि लेख्यो, केहि पढ्यो, केहि सुनायो, केहि सुन्यो, दिन त त्यसै पनि बित्दो रैछ नै। सबैमा जोश जाँगर उस्तै छ, काम गर्यो, सिक्यो, सिकायो, बेला बेला, समय समयमा आउने निर्देशनहरु पनि पालना गर्यो। कार्य एकरुपता होस्, सहकार्य होस्, एक अर्काको मनोभाव बुझ्न सकियोस, एक अर्काको पिरमार्का पनि बुझ्न सकियोस् भन्ने सबैमा छ।

जति दिन क्वारेन्टाइनमा बस्नु परे पनि, रहने बस्ने सवालमा कसैमा द्विविधा छैन, न त कुनै हिच्किचाहट नै छ। मिहेनत गरौँ, उत्साही आवाज श्रोतामा पुर्याउं भन्ने छ। बढी भन्दा बढी सुचनाहरु प्रसारण गरौँ, शन्देशहरु प्रसारण गरौँ, सबै वर्ग, तह, तप्काका आवाजहरु स्रोता समक्ष पुगुन्, सरकारका पछिल्ला निर्णयहरु हरेक जनताले थाहा पाउन् भन्ने अभिप्राय सबैको छ। कामले काम सिकाउँछ, चुनौतीमा रम्न सक्ने, हाँस्न सक्ने, बाँच्न सक्ने मान्छेकै आयु लामो पनि हुन्छ, त्यसैले समयसित एकाकार हुन, एक्यवद्द हुन सिकाउँछ, युग हाँक्न सिकाउँदछ, र आफुलाई स्थापित गराउँदछ। सबैको मन्, बचन, कर्म, भनाई, गराई र बिचारको सार यस्तै देखिन्छ, अन्तर्भाव पनि यस्तै बुझिन्छ।

लेखक टीका भण्डारी रेडियो नेपालका कार्यक्रम महाशाखा प्रमुख हुनुहुन्छ।

Leave a Reply

Your email address will not be published.