१५७ वर्षपछि नेपाली चियाले ‘ट्रेडमार्क’ पाउँदै

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ प्रमोसन बिजनेस राजनीति

झापा: नेपालमा उत्पादन हुँदै आएको चियाले ट्रेडमार्क (आफ्नै लोगो) पाउने भएको छ । नेपालमा चिया खेती शुरु भएको १५७ वर्षपछि ‘ट्रेडमार्क’ पाउन लागेको हो । नेपाली चियाले टे«डमार्क नपाउँदा अहिलेसम्म भारतको लोगोमा अन्तर्राष्ट्रिय बजारमा चिया निर्यात भइरहेको थियो ।

वि।स। १९२० सालमा तत्कालीन इलामका वडा हाकिम गजराजसिंह थापाले इलाम चिया कमानमा चिया रोपण गराएपछि नेपालमा चिया खेतीको शुरुवात भएको मानिन्छ । वि।स। १९२२मा सोक्तिम चिया कमानमा चिया रोपणपछि नेपालमा चिया खेती विस्तार भएको थियो । २०१६ सालमा पूर्वी तराईको झापामा बुधकरण टी इस्टेट सञ्चालनमा आएसँगै नेपालमा व्यवसायिक चिया खेती शुरु भएको मानिन्छ ।

चिया खेती शुरु भएको लामो समयपछि नेपाली चियाले ‘टे«ेडमार्क’ पाउन लागेको राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोडले जनाएको छ । वोर्डका निमित्त क्षेत्रीय निर्देशक प्रेम आचार्यका अनुसार भदौको तेस्रो सातासम्ममा नेपालमा उत्पादित चियाले ‘टे«ेडमार्क’ पाउनेछ । जसका लागि आवश्यक प्रक्रियाहरु पूरा भएको वोर्डका निमित्त क्षेत्रीय निर्देशक आचार्यले बताए । इलाममा उत्पादित चियाको टेस्टिङ समेत भएको छ– आचार्यले भने– नेपाली चियाले यतिबेलासम्ममा ‘टेड्रमार्क’ पाइसक्ने थियो, तर कोरोना भाइरसको बढ्दो संक्रमणका कारण केही समय ढिलाई भएको हो । ‘ट्रेडमार्क’का लागि आठवटा कम्पनी वोर्डमा दर्ता भएका छन् ।

नेपालका १४ जिल्ला ताप्लेजुङ, संखुवासभा, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, झापा, मोरङ, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, ललितपुर र रामेछापमा व्यावसायिक चिया खेती हुँदै आएको छ ।

हाल नेपालमा २८ हजार ५ सय ९५ हेक्टर क्षेत्रफलमा चिया खेती हुँदै आएको राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोडको तथ्याङ्कमा उल्लेख छ । जसमा ११ हजार ४ सय ४३ हेक्टर क्षेत्रफलमा सीटीसी चिया उत्पादन हँुदै आएको निमित्त क्षेत्रीय निर्देशक आचार्यले बताए ।

नेपालका चिया उत्पादन हुने १४ मध्ये पाँच जिल्लामा चिया उत्पादन बढी हुन्छ । नेपालमा वार्षिक २ करोड ४८ लाख ३ हजार ६ सय १२ केजी तयारी चिया उत्पादन हुने गरेको वोर्डको तथ्याङ्कमा उल्लेख छ । जसमा झापामा मात्रै एक करोड ८८ लाख केजी चिया उत्पादन हुँदै आएको छ ।

नेपालमा साना चिया किसानको भूमिका मुख्य रहेको पाइन्छ । १५ हजार ४० किसानमध्ये १२ हजार ७८ जना साना किसान अर्थोडक्स चिया उत्पादनमा र २ हजार ८ सय ६० साना किसान सीटीसी चिया उत्पादनमा संलग्न छन् । नेपालमा करिव ४६ वटा अर्थोडक्स चिया कारखाना र ४२ वटा सीटीसी चिया कारखाना रहेका छन् । अर्थोडक्सका लागि इलाम र सीसीटीका लागि झापामा चिया कारखाना सञ्चालनमा छन् ।

चिया खेतीका लागि इलाम प्रख्यात भए पनि उत्पादनका हिसावले झापामा धेरै चिया उत्पादन हुँदै आएको वोर्डको तथ्याङ्कमा उल्लेख छ । संख्यात्मक रुपमा इलाममा बगान संख्या धेरै भए पनि खेती हुने क्षेत्रफल झापामा बढी छ । झापाका चिया किसानले वार्षिक झण्डै दुई अर्ब रुपैयाँको चिया बिक्री गर्दै आएका छन् ।

अकाशियो हरियो चिया पत्तीको मूल्य

बिगत वर्षको तुलनामा यस वर्ष हरियो चिया पत्तीको मूल्य बढेको छ । अघिल्ला वर्ष हरियो चिया पत्ती प्रतिकेजी १५ रुपैयाँमा पनि बिक्री गर्न मुस्किल हुने गरेको थियो । तर, यस वर्ष हरियो पत्तीको मूल्य झण्डै तीन गुनाले बढेर प्रतिकेजी ४०देखि ४२ रुपैयाँ पुगेको राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोडले जनाएको छ ।

झापामा सीटीसी मात्रै चिया उत्पादन हुन्छ । यहाँ उत्पादित चिया अहिले सबै बिक्री भइरहेको कार्यालयले जनाएको छ । यस अघिका वर्षमा साउनमा चियाको हरियो पत्ती धेरै उत्पादन हुने गरेकाले किसानले खासै मूल्य पाउदैन थिए ।
हरियो चिया पत्ती उत्पादनमा ह्रास आएका कारण मूल्य वृद्धि भएको बताइएको छ ।

कोरोना भाइरसको बढ्दो संक्रमणले किसानले समयमा चिया टिप्न नपाएका कारण यो समयमा हरियो चिया पत्ती कम उत्पादन भएको बताइन्छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष बर्षा बढी भएका कारण पनि हरियो चिया पत्ती कम उत्पादन भएको हुनसक्ने किसानको भनाइ छ । जसका कारण हरियो चिया पत्तीको मूल्य बढेको उद्योग सञ्चालकहरुको भनाइ छ । सुरेन्द्र भण्डारीले पूर्वाञ्चल दैनिकमा लेख्नु भएको समाचार (झापा)

Leave a Reply

Your email address will not be published.