–प्रलयको आँधी — (कविता)- बिमल वैद्य

Mukya Samachar Special News Trending कला संस्कृति घुमफीर जीवन शैली मनोरञन विचार समाज

बिमल वैद्य ,इलाम

कहिले त उभो बगौ जस्तो लाग्छ
सधै उँधो बग्ने मान्यतालाई भत्काएर
श्रष्टीमा प्रलय होस् भन्ने लाग्छ
म माथिको आकाश
तलको भूई
कहिले/काँही फेरिएर
माथि /तल
तल/माथि होस् जस्तो लाग्छ
मन भित्र प्रलयको आँधीले
गति लिन थालेपछि
शायद यस्तै हुदोरहेछ ।

पहाडहरू त्यहीँ छन्
ठडिएका रूखहरू
जहाँ थिए उही छन्
म उभिएको सिमानामा भने
खसिरहेछ पहिरो अनादि कालदेखि
हरेक चोटि परिचय हराउदै
नयाँ सम्बन्धको हात उठाउछु म
अनुनयका स्वरहरू
धेरै चोटी पानीको लहरमा बगेर
तल/तल पुगेर निर्वासित बने
एक झोक्का बतास जस्तै आवाजहरू
कीनारका ठक्कर खाएर
पानीको बेगमा
पानी जस्तै बगेर गए
सधैं उधो मात्र बगिरहने
पानीको प्रवाहलाई हेरेर म चुपचाप बसिरहे।

एउटै पाइला टेकेर
हिड्नु थियो निक्कै पर सम्म
र छाम्नु थिय‍ो आत्मियताको ढुकढुकी
तिम्रै नशा भित्र भएर बग्ने
मेरो तातो रगतलाई
मैले मेरो आफ्नै जीवन मानेको थिए
लाग्थ्यो,
तिमीले फेर्ने श्वासका निम्ति
म तिम्रै छेउमा पिपल बनेर उभिएको छु
हरेक बिहान घामको झिल्को
मेरै शिरमा आएर ठोक्किन्थो
र पुग्थ्यो तिमी सम्म
र उज्यालोको अनुभूतिमा रमाउथ्यौ
खनेर सिमानामा खाडल
म सम्म आइपुग्ने बाटो
मैले होइन ,
किन हो
तिमीले नै मेटायौ
अब त यति सम्म पर पुग्यौ कि
न त म मुहानमा रमाउन सक्छु!
न त बगेर तिमी छेउ सम्मै पुग्न सक्छु!
यो पनिको बेग पनि
अब त व्यर्थ लाग्न थाल्यो मलाई
सधैं उधो बग्ने मान्यतालाई तोडेर
श्रष्टीले प्रलयको आँधी निम्त्याअोस्
जस्तो लाग्न थाल्यो
र अब हेर्नु छ बाँकी
पानीको उल्टो प्रवाहलाई
माथि बाट तल होइन
तल बाट बग्न शुरू गरोस् नदीहरू

Leave a Reply

Your email address will not be published.