इलाममा विद्यालयकै सिफारिसमा गैर-शिक्षकलाई खोप !

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ राजनीति रोचक स्वास्थ्य/शिक्षा

इलाम : कोरोना भाइरसविरुद्धको भेरोसेल खोप मापदण्डबाहेकका व्यक्तिले समेत लगाएको पाइएको छ। शिक्षक नै नभएका व्यक्तिसमेतले विद्यालयकै सिफारिसमा खोप लगाएको पाइएको हो।इलाम सदरमुकामस्थित आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक कुमार पौडेलको लिखित सिफारिसमा विन्दिका श्रेष्ठ र कल्पना श्रेष्ठले मंगलबार इलामको इलाम नगरपालिका–७ को सिटी हल खोप केन्द्रमा खोप लगाएका छन्। प्रधानाध्यापक पौडेलकै हस्ताक्षर, छाप र विद्यालयको छापसमेत रहेको दुवैजनाको फरक–फरक सिफारिस पत्रमा ‘निजी स्रोत शिक्षक’ उल्लेख छ। तर, उनीहरू दुवै विद्यालयका शिक्षिका होइनन्। र, विद्यालयले यसअघि स्वास्थ्य कार्यालयलाई पठाएको खोप लगाउने ५२ शिक्षकरकर्मचारीको सूचीमा उनीहरू दुवैजनाको नाम उल्लेख छैन।

स्वास्थ्य कार्यालयको तालिकाअनुसार मंगलबार ५५ वर्षभन्दा माथिका नागरिकले मात्र खोप लगाउनुपर्ने हो। दिउँसो ३ बजेसम्म मात्र नाम टिपाएर खोप लगाउने गरिएकामा आदर्श माविका केही शिक्षक समय बितेपछि खोप केन्द्र प्रवेश गरेका थिए। ‘स्कुलको बकाइदा सिफारिस पत्र देखाएपछि हामीले खोप लगाइदियौं,’ एक स्वास्थ्य कार्यकर्ताले सुनाए, ‘यहींका एक जनप्रतिनिधि समेतले उनीहरूलाई खोप लगाउन भनेपछि नलगाउने पनि कुरा भएन।’

आदर्श माविका प्रधानाध्यापक पौडेलले हतारमा ‘गल्ती’ भएको स्वीकारे। तर, उनले दुवैजना विद्यालयको ‘स्वयंसेवक शिक्षक’ भएको दाबी गर्न खोजे। ‘उहाँहरू दुवैजना कहिलेकाहीं स्कुल आएर पढाउँनुहुन्छ, तलब चाहिँ दिँदैनौं,’ पौडेलले भने, ‘तर, सिफारिसको कुरामा हतारमा गल्ती भएछ।’ प्रअ पौडेलले स्वयंसेवक शिक्षकको दाबी गरेपनि दुवै महिलालाई विद्यालयले नियुक्ति दिएको छैन। न त विद्यालय व्यवस्थापन समितिले उनीहरूलाई स्वयंसेवक शिक्षक राख्ने निर्णय नै गरेको छ।

इलाम नगरपालिका स्वास्थ्य शाखा प्रमुख रमन्ता पौडेलले गलत सिफारिस गरेर कसैले खोप लगाए लक्षित समूहलाई नै अपुग हुने बताइन्। ‘कसैले पनि गलत सिफारिस गरेमा अनुमान गरिएको खोपले नपुग्ने हुन्छ,’ उनले भनिन्, ‘निश्चित संख्या तोकेर आएको खोप तोकिएकै समूहलाई लगाइसक्नुपर्छ, अनिमात्र अरूको पालो आउँछ।’ सिटीहल खोप केन्द्रमा मंगलबारसम्म साढे ६ सयभन्दा बढीले भेरोसेल खोप लगाएको नगरले जनाएको छ।

सरकारले भेरोसेल खोप दिन पाउने सेवाग्राहीको लक्षित समूह तोकेको छ। तोकिएको मापदण्डअनुसार ५५ वर्ष र त्यसभन्दा माथिका पहिलो मात्रा लगाउन बाँकी नागरिक, विश्वविद्यालयका प्राध्यापक, विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा अन्य कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालक एवं सरकारले तोकेको अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी व्यक्तिलाई मापदण्डमा राखेको छ।

भीम चापागाई- नागरिक न्युज

Leave a Reply

Your email address will not be published. Required fields are marked *